अन्नपूर्ण समाज ३१ जेठ २०७५ १६:२१:००
काठमाडौं : चौधरी फाउण्डेसनले चितवन महानगरपालिकाको मेघौलीस्थित राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयका लागि शुद्ध खानेपानी सेवा उपलब्ध गराएको छ। अन्तर्राष्ट्रिय प्रविधिको ‘वाटर फिल्ट्रेसन सिस्टम’ जडान गरी विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था मिलाइएको फाउण्डेसनले जनाएको छ।
चौधरी फाउण्डेसनका अध्यक्ष एवं सांसद विनोद चौधरीले बिहीबार विद्यालयमा आयोजित एक समारोहबीच ‘वाटर फिल्ट्रेसन सिस्टम’को उद्घाटन गरेका थिए। चौधरी फाउण्डेसनले शिक्षा र बालबालिकालाई प्रत्यक्ष लाभ हुने क्षेत्रमा आफूलाई संलग्न गराउदै आएको स्मरण गर्दै चौधरीले देशको उज्यालो भविष्यको आधार तयार गर्न शिक्षा र बालबालिकामा नै पर्याप्त लगानी गर्न जरुरी रहेको बताए।
फाउण्डेसनले २०६४ सालदेखि शिक्षित नेपाली, समृद्ध नेपाल भन्ने अभियानका साथ ज्ञानोदय छात्रवृत्ति समेत वितरण गर्दै आएको छ। फाउण्डेसनका अनुसार करिब १० लाख रूपैयाँ लागतमा उक्त खानेपानी सिस्टम जडान गरिएको हो। जसबाट २४ सै घण्टा शुद्ध खानेपानीको व्यवस्था मिलाइएको छ। यस खानेपानी प्राणालीबाट स्थानीय बासिन्दा पनि लाभान्वित हुने विश्वास गरिएको छ।
Story Link: http://annapurnapost.com/news/100529